काठमाडौं। केएल दुगड ग्रुपअन्तर्गत सञ्चालित सौरभ फुड प्रोडक्ट ले सन् २०२५ मा ३ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। अघिल्लो वर्ष कम्पनीको कारोबार ३ अर्ब ६ करोड १० लाख रुपैयाँ रहेको थियो। त्यसअघि सन् २०२३ मा २ अर्ब १९ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २१ करोड रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीको सञ्चालन मार्जिन सन् २०२५ मा ६.९८ प्रतिशत पुगेको छ, जबकि सन् २०२४ मा सञ्चालन मार्जिन नकारात्मक रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ०.९ प्रतिशत खुद नाफा कमाएको जनाएको छ।
यता कम्पनीको कुल ऋण भने उल्लेखनीय रूपमा बढेको छ। सन् २०२४ मा २ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको कुल ऋण सन् २०२५ मा बढेर २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसमध्ये १ अर्ब २५ करोड २० लाख रुपैयाँ दीर्घकालीन कर्जा र १ अर्ब ७२ करोड २० लाख रुपैयाँ चालु पुँजी कर्जा रहेको छ।
यद्यपि कुल ऋण बढे पनि कम्पनीको ट्यान्जिबल नेट वर्थमा सुधार देखिएको छ। साथै, ब्याज सेवा कभरेज अनुपात (Interest Coverage Ratio)पनि सुधार भएर १.०१ गुणा पुगेको छ। तर, न्यून नाफा र उच्च ब्याज खर्चका कारण ऋण सेवा क्षमता अझै चुनौतीपूर्ण रहेको देखिन्छ।
सन् १९९९ मा स्थापना भएको सौरभ फुड प्रोडक्टले चामल, तोरीको तेल तथा अन्य खाद्य वस्तु उत्पादन र बिक्री गर्दै आएको छ। बारा जिल्लाको छाता पिप्रास्थित उद्योगबाट कम्पनीले वार्षिक ६१,३२० मेट्रिक टन चामल प्रशोधन तथा १८,२५० मेट्रिक टन तोरीको तेल प्रशोधन गर्ने क्षमता राखेको छ।
कम्पनीमा नरेश दुगड र कुमुद दुगडको स्वामित्व रहेको छ। कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३५ करोड १५ लाख रुपैयाँबराबरको क्रेडिट रेटिङ गराएको छ। यसमध्ये १ अर्ब ४ करोड १५ लाख रुपैयाँ दीर्घकालीन कर्जा र २ अर्ब ३१ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गरिएको छ।
Source: Clickmandu.com